लागूपदार्थ परीक्षण गर्ने क्रममा चार चालक पक्राउ
प्रहरी चौकी ढुंग्रेवास तथा जनस्वास्थ्य कार्यालय सिन्धुलीको संयुक्त टोलीले शनिबार बिहान बीपी राजमार्गमा सञ्चालनमा रहेका १२ वटा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको लागूपदार्थ सेवन परीक्षण गरेको थियो

तस्वीरःएआई
सिन्धुली,सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित बीपी राजमार्ग क्षेत्रमा सार्वजनिक सवारीसाधनका चालक तथा सह–चालकमाथि गरिएको लागूपदार्थ सेवन परीक्षणका क्रममा चार जना चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली,प्रहरी चौकी ढुंग्रेवास तथा जनस्वास्थ्य कार्यालय सिन्धुलीको संयुक्त टोलीले शनिबार बिहान बीपी राजमार्गमा सञ्चालनमा रहेका १२ वटा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको लागूपदार्थ सेवन परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा चार जना चालकको नतिजा सकारात्मक (पोजेटिभ) देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–४ निवासी २५ वर्षीय लक्ष्मण विष्ट, काभ्रेपलाञ्चोकको नवबुद्ध नगरपालिका–१० निवासी २९ वर्षीय सन्तोष न्यौपाने, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ निवासी ३० वर्षीय गोविन्द घिमिरे तथा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ निवासी २६ वर्षीय शम्शेरबहादुर बजु रहेका छन् ।
