अपराध

बीपी राजमार्गमा रकम असुल्ने कोही थुनामा कोही रिहा

रकम असुली गरेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये दुई जनालाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ

२०८३ असार ९217 views
Share
बीपी राजमार्गमा रकम असुल्ने कोही थुनामा कोही रिहा

सिन्धुली,बीपी राजमार्गमा सवारी साधन रोकी चालक तथा यात्रुलाई धाकधम्की दिँदै रकम असुली गरेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये दुई जनालाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। अन्य तीन जना भने धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत जेठ ११ गते दिउँसो कमलामाई नगरपालिका–९ चोरखोलास्थित बीपी राजमार्गमा सवारी साधन रोकी पैसा असुल गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो। सिन्धुली जिल्ला अदालतले असार ८ गते आदेश जारी गर्दै कमलामाई नगरपालिका–३ निवासी २५ वर्षीय सुरजकुमार फुयाल र ४० वर्षीय हेमन विकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।

यस्तै, कमलामाई नगरपालिका–४ निवासी ३१ वर्षीय लोकबहादुर कार्कीलाई ७ लाख रुपैयाँ, ३२ वर्षीय लालबहादुर मगरलाई ९ लाख रुपैयाँ तथा ३० वर्षीय श्यामबहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० विजय श्रेष्ठका अनुसार अदालतको आदेशअनुसार थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ। प्रहरीले राजमार्ग क्षेत्रमा हुने यस्ता आपराधिक गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।