खोटाङ हेलिकोप्टर दुर्घटना : ‘हेलिकोप्टर उचालेर च्यापिएका मान्छे निकाल्यौं’
भूपू युके लाहुरे डाकमणि राईकी श्रीमती मनलक्ष्मीको यूकेमा गत फागुन ७ गते मृत्यु भयो । श्रीमतीको शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने पारिवारिक सल्लाह अनुसार डाकमणि छोराछोरी र आफन्त लिएर गाउँ आउँदै थिए ।

७ चैत, खोटाङ । भूपू युके लाहुरे डाकमणि राईकी श्रीमती मनलक्ष्मीको यूकेमा गत फागुन ७ गते मृत्यु भयो । श्रीमतीको शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने पारिवारिक सल्लाह अनुसार डाकमणि छोराछोरी र आफन्त लिएर गाउँ आउँदै थिए ।
गाउँमा दाजुभाइ, छरछिमेक तथा नजिकका आफन्तलाई अन्तिम संस्कारका लागि हेलिकोप्टरबाट आउँदै गरेको खबर थियो । डाकमणिको गाउँ खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी हो । उनी यही चैत ४ गते छोराछोरीसहित हेलिकोप्टरबाट घर नजिकै अवतरण गर्ने तयारी थिए ।
डाकमणिको घर नजिक बारीको गरामा हेलिकोप्टर ल्याण्ड गर्न सेतो अक्षरमा अंग्रेजी ‘एच’ लेखेर राखिएको थियो । दिनको करिब १२ बज्न लाग्दा हेलिकोप्टरको आवाज आउन थाले । आफन्त र छरछिमेक हेलिकोप्टर ल्याण्ड गर्ने ठाउँ वरपर भेला भए ।
उडिरहेको हेलिकोप्टर विस्तारै नजिक–नजिक आइरहेको थियो । एयर डाइनेष्टी हेलिकोप्टरको पंखाले धुलो उडाउन थालेपछि कतिपय स्थानीय पछि सरे । कोही धुलो छेक्दै मोबाइलबाट भिडियो–फोटो खिच्न थाले ।
धुलो उडाउँदै जमिनमा अवतरण गरिसकेको हेलिकोप्टर अकस्मात पुच्छर उकालो पारेर जोतिदै उछिट्टियो । तल्लो गरामा ल्याण्ड हुनै लागेको हेलिकोप्टर माथिल्लो गरामा पुगेर क्षतिग्रस्त भयो । बारीको डिल छेउमा ल्याण्ड भएको थिया, अलि भित्तातिर सार्न खोज्दा उछिट्टिएको प्रत्यक्षदर्शी प्रकाश राई बताउँछन् ।
हेलिकोप्टरका चालक थिए खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका सविन थापा । डाकमणि, उनका छोरा बालकुमार राई, छोरी लक्ष्मी राई, आफन्त समला राई र पास्टर काजीबहादुर राई यात्रुका रुपमा सवार थिए ।
दुर्घटना भयनाक भए पनि काजीबहादुर बाहेक सबैजना सकुशल निस्किए । ललितपुर निवासी काजीबहादुरलाई भने च्यापिएको अवस्थामा बाहिर निकालिएको थियो ।
हेलिकोप्टरमा आगो नउठेका कारण पाइलट र सबै यात्रुको जीवन जोगिएको खार्ताम्ताका वडाध्यक्ष मिलन राईले बताए । पाइलट थापाले तत्कालै इन्जिन अफ गरेका कारण हेलिकोप्टरमा आगो नलागेको बताइन्छ ।
मनलक्षीको शवलाई हेलीकोप्टरबाटै गाउँमा पुर्याउने योजना थियो तर हेलिकोप्टरमा कफिन अटेन । हेलिकोप्टरमा नअटेको कफिनलाई एम्बूलेन्समार्फत गाउँ पुर्याउने व्यवस्था मिलाएर मृतकका परिवार हेलिकोप्टरमा उडेका थिए ।
बिहानको ११ बजेर ५१ मिनेट गएको थियो । आँखै अगाडि नसोचेको दुर्घटनाको प्रत्यक्षदर्शी बने स्थानीय । उछिट्टिएको हेलिकोप्टरको पंखा पट्मेरोको रुखमा ठोक्किएर भाँचियो । त्यसपछि हेलिकोप्टर घोप्टो परेर दोब्रियो र अडियो ।
डाकमणिको परिवालाई पर्खिएका छरछिमेकीको भागाभाग भयो । घटनास्थलमा रुवावासी र चिच्याहट सुरु भयो । पाइटल थापा, डाकमणि, छोरा बालकुमार, छोरी लक्ष्मी र आफन्त समला राई सिटबेल्ट खोलेर सहजै बाहिर निस्किए/निकालिए ।
च्यापिएका पास्टर काजीबहादुरलाई चिच्याइरहेको अवस्थामा १५/२० जनाले क्षतिग्रस्त हेलिकोप्टरलाई उचालेर निकालेका थिए । ‘हामी भण्डै बेहोसको अवस्थामा थियौं । त्यो अवस्थाको हेलिकोप्टर ब्लाष्ट हुने खतरा हुँदोरहेछ, तर मान्छे बचाउन हेलीलाई उचाल्यौं’ राईले भने, ‘साइलेन्सरको भागबाट धुवाँ निस्किरहेको थियो । पाइलटले इन्जिन बन्द गरेछन् र आगो बल्न पाएनछ ।’ हेलिकोप्टरलाई हाल त्रिपालले ढाकेर राखिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा हेलिकोप्टर बारीको डिलमा ल्याण्ड भएको थियो । हेलिकोप्टरलाई एच साइन राखेको ठाउँमा सार्न खोज्दा दुर्घटना भएजस्तो देखिएको स्थानीयको अनुमान छ ।
दुर्घटनामा घाइते बनेका पास्टर राई र पाइलट थापालाई तत्कालै अर्को हेलिकोप्टर मगाएर काठमाडौं लगिएको थियो । दुर्घटनामा परेका डाकमणिको परिवारले मृतक मनलक्ष्मीको अन्तिम संस्कार गरिसकेका छन् ।
News Provider: Online Khabar
