नेकपाले ६ महिनाभित्र महाधिवेशन गर्ने गरी छलफल
सोमबारदेखि सुरु भएको बैठकमा महाधिवेशन,निर्वाचन परिणामको समीक्षा, आगामी कार्यक्रमबार नेताहरुले धारणा राखिरहेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुले छिटो महाधिवेशन गरी संगठनलाई गति दिनुपर्ने बताएका छन्

काठमाडौँ,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा महाधिवेशनको विषयले प्रवेश पाएको छ । संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव लिखित रुपमा राखेपछि यो विषयमा औपचारिक छलफल सुरु भएको हो ।
सोमबारदेखि सुरु भएको बैठकमा महाधिवेशन,निर्वाचन परिणामको समीक्षा, आगामी कार्यक्रमबार नेताहरुले धारणा राखिरहेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुले छिटो महाधिवेशन गरी संगठनलाई गति दिनुपर्ने बताएका छन् ।
‘महाधिवेशन गर्ने प्रस्तावमा छलफल भइरहेको छ,’ नेता अग्नि सापकोटाले भने, ‘महाधिवेशन गरी पार्टीलाई गति दिने, संगठन चुस्त बनाएर जानेबारे धारणा राख्ने क्रम जारी छ ।’
नेताहरूले फागुन २१ को निर्वाचनमा पार्टीले ठूलो पराजय भोग्नुमा जनताको आक्रोश, कमजोर मुद्दा, संगठन क्रियाशील हुन नसक्नुलगायत कारण औंल्याएका छन् ।
गत कात्तिकमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण भएपछि संयोजककको हैसियतले दाहालले महाधिवेशनको प्रस्ताव औपचारिक रुपमा राखेका हुन् ।
गत बिहीबार केद्रीय कार्यसंयोजन समितिमा उनले लिखित रुपमा महाधिवेशन प्रस्ताव गरेका थिए । अबको ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने, उनले अघि सारेको प्रस्तावमा उल्लेख छ ।
पार्टी सुदृढीकरणका लागि नेकपाले तत्कालै सांगठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने समीक्षा प्रतिवेदनमा लेखका छन् । पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नुपर्ने भएको छ, उनले संगठन समायोजन र निर्माणलाई पूर्णता दिने प्रस्तावमा भनेका छन् ।
पार्टी संगठन र पार्टीसम्बद्ध जनवर्गीय संगठनलाई नयाँ ढंगले पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ । त्यसका लागि एक महिनाभित्र पालिका तहसम्म भएका सबै संगठन समायोजन गर्ने र नभएका स्थानमा नयाँ संगठन निर्माण गर्ने, तीन महिनाभित्र सबै वडामा संगठन निर्माण गरिसक्ने ।

